धनकुटा नगरपालिका –७‚ चिरबिरे चौतारामा बिहीबार दिउँसो ग्यास लिकेजका कारण आगलागी भएको छ। दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई आगो लागेको हो।

आगलागीबाट उक्त कोठामा रहेको भाँडावर्तन र फर्निचर जलेर पूर्ण रूपमा नष्ट भएको छ। तर‚ आगलागीमा मानवीय वा गम्भीर क्षति भने नभएको प्रहरी स्रोतले जनाएको छ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो करिब आधा घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभएको छ।

अहिलेसम्म घटनामा अन्य कुनै ठूलो आर्थिक वा भौतिक क्षतिको विवरण भने नआएको जानकारी प्राप्त भएको छ।