सुर्खेत– जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा हालै भएको पदपूर्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ। स्थानीय युवाहरूले नगरपालिकामा विज्ञापन गरिएको सुशा परियोजनाका पदपूर्ति प्रक्रियामा अमर्यादित र अस्वस्थ प्रणाली अपनाइएको भन्दै छानबिनको माग गरेका छन्।

स्थानीय युवाहरूले नगरपालिकालाई दिएको निवेदनमा सिफारिस गरिएका उम्मेदवारहरूको योग्यता र अनुभव सम्बन्धी कागजातहरू फर्जी हुन सक्ने आशंका व्यक्त गरिएको छ। उनीहरूले सिफारिस गरिएका उम्मेदवारहरूले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गरेको प्रमाण र बैंक स्टेटमेन्ट सहितको विवरण माग गर्दै छानबिन गर्न अनुरोध गरेका छन्।

युवाहरूले प्रस्तुत गरेको निवेदनमा प्रश्नपत्र नलगाड र आठबिसकोट नगरपालिकामा एउटै किसिमको रहेको भन्दै, मिलेमतोमा नियुक्ति प्रक्रिया अघि बढाइएको आशंका गरेका छन्। यस विषयमा तुरुन्त छानबिन गरिनुपर्ने माग राखिएको छ।

अख्तियारमा निवेदन दर्ता

निवेदन बुझाउने युवाहरूले यो विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतमा समेत दर्ता गराएको जानकारी दिएका छन्। उनीहरूले नियुक्तिप्रक्रियामा राजनीतिक दबाब सिर्जना भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

पदपूर्तिका लागि विज्ञापन

नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना’ अन्तर्गत नलगाड नगरपालिकाले विभिन्न पदहरूमा विज्ञापन गरेको थियो। विज्ञापन अनुसार खानेपानी सरसफाई तथा स्वच्छता संयोजक, प्राविधिक सहजकर्ता, र सामाजिक परिचालक गरी ७ जना कर्मचारी माग गरिएको थियो।

नलगाड नगरपालिकाले केही दिनअघि सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो। तर, स्थानीय उम्मेदवारहरूले भने, सुसा कम्पनीले कुनै मापदण्ड नअपनाएको र नगरपालिकाबाटै परीक्षा सञ्चालन गरेर राजनीतिक दबाबमा नियुक्ति गरिएको दाबी गरेका छन्।

प्रशासनको प्रतिक्रिया

नलगाड नगरपालिकाका प्रशासनिक अधिकृत गोपाल शाहीले यस विषयमा स्थानीय प्रशासनले थप छानबिन गर्ने संकेत गरेका छन्। शाहीका अनुसार, आफू नगरपालिकामा आउनु अघि नै विज्ञापनको सूचना प्रकाशित भइसकेको थियो, तर उनी भन्छन् कि परिक्षा निष्पक्ष र दबाबमुक्त वातावरणमा सम्पन्न भएको थियो। उनले परीक्षाका लागि प्रश्न पत्र कम्पनीले नै पठाएको र परीक्षा पनि कम्पनीको नेतृत्वमा भएको स्पष्ट पारे।