कर्णाली प्रदेश अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु
 
        सुर्खेत | आइतबार राति कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएपछि पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन्। वीरेन्द्रनगर सुर्खेत वडा नं ६ निवासी अन्दाजी २० वर्षीय सर्मिला सुनारको मृत्यु भएको हो। उनका श्रीमान दैलेखका हुन्।
सुत्केरीलाई आइतबार बेलुकी ८ बजे बेथा लागेपछि सुर्खेत प्रदेश अस्पताल पुर्याइएको थियो। अस्पतालका डाक्टरहरूले बच्चालाई बचाउन नसकिने तर आमालाई बचाउन सकिने बताएका थिए। पीडित पक्षले सुत्केरीलाई नेपालगञ्ज रिफर गर्न आग्रह गरे पनि डाक्टरहरूले अस्पतालमै उपचार हुने भन्दै अस्वीकार गरेको पीडितले बताए ।
पीडित परिवारका अनुसार सुत्केरीलाई इमरजेन्सीमा पुर्याएपछि उनीहरूलाई ११/१२ बजेसम्म भेट्न दिइएन। डाक्टरहरूले राति १२ बजे बच्चाको मृत्यु भएको जानकारी दिए भने सुत्केरीलाई आईसियुमा राख्ने बताएका हुन।
तर, पीडित परिवारका अनुसार, सुत्केरीको मृत्यु १०/११ बजे नै भएको आशङ्का छ, जुन पोस्टमार्टम पछि मात्र पुष्टि हुने बताइएको छ। पीडित परिवारका सदस्य दीपेन्द्र बी .क. ले डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै न्यायको लागि लडिरहने र आन्दोलन जारी राख्ने बताएका छन्।
अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै पीडित पक्षले जुलुस निकाल्ने तयारी गरिरहेको दलित संघका अधिकारी गम्भीर सिंह भुलले जानकारी दिए।

 
                         
                                                                                                                                                                                                            


प्रतिक्रिया दिनुहोस्