राजधानीमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
राजधानीको विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौँ महानगरपालिका मित्रनगर स्थित एक होटलमा जुवा ,कौडा खेलिरहेको अवस्थामा १३ जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो। पक्राउ परेका मध्ये काभ्रे तेमाल गाउँपालिका निवासी, हाल काठमाडौँ बौद्धमा बस्दै आएका २८ वर्षीय सोम बहादुर तामाङ पनि छन्।
प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रुपैयाँ, ४५ थान कौडा, र ४ थान मोबाइलसहित नियन्त्रणमा लिएको छ। गोङ्गबु प्रहरी प्रभागबाट खटिएको टोलीले उक्त कारवाही गरेको हो।
यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित सनसिटी लाइफ बेकरीमा पनि जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरिएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका -२ का ४२ वर्षीय नवराज श्रेष्ठको नेतृत्वमा जुवा खेलिरहेको अवस्थामा नगद ६ लाख ४२ हजार ५ सय रुपैयाँ, २२ थान मोबाइल, र १७ थान कौडा सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी काँडाघारीबाट खटिएको टोलीले उक्त कारवाही गरेको हो। हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्