अखिल क्रान्तिकारीको महाधिवेशनमा उमेर हद विवाद: नेतृत्व चयन अन्योलमा
 
        नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया विवादका कारण अन्योलमा परेको छ। बिहिबारदेखि शुरु भएको महाधिवेशन एक साता बितिसक्दा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्न नसकेको हो।
महाधिवेशनमा मुख्य विवाद उमेर हदलाई लिएर देखिएको छ। उमेर सीमा २८, ३० वा ३२ वर्ष राख्ने भन्ने विषयमा पार्टीभित्र विभिन्न गुटबीच मतभेद देखिएको छ। मङ्गलबार उमेर हदको विवाद मतदान मार्फत् टुङ्ग्याउने योजना रहेपनि गुटगत विवादका कारण निर्वाचन प्रक्रिया सुरु हुन सकेन। महाधिवेशनमा सहभागी कतिपय प्रतिनिधिहरू विवाद बढेपछि कार्यक्रम छोडेर फर्किन थालेका छन्।
उमेर हद लागू भएमा हाल नेतृत्वको दाबी गरिरहेका धेरै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने भएकाले उनीहरू उमेर हदको विपक्षमा उभिएका छन्। यसै कारण महाधिवेशनमा कुर्सी हानाहानको अवस्था समेत सिर्जना भएको थियो।
विवाद समाधान गर्न पार्टीले हस्तक्षेपको तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आज आफ्नो निवासमा पदाधिकारीहरूसँग छलफल गरिरहेको छ। पार्टीले उमेर हदको विवाद टुङ्ग्याएर नेतृत्व चयन प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको बताइएको छ।
महाधिवेशनमा अध्यक्षका आकाङ्क्षीका रूपमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, नारायण खनाल लगायतका दर्जनौं नेताहरूको नाम अगाडि आएको छ। यस महाधिवेशनमा २,३२३ जना प्रतिनिधिहरू सहभागी छन्, र प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गरिने योजना छ।

 
                         
                                                                                                                                                                                                            


प्रतिक्रिया दिनुहोस्