मध्यपश्चिम विश्वविद्यालयमा अंग्रेजी-नेपाली दुवै भाषामा प्रश्नपत्रको माग
सुर्खेत –मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्न माग गरेका छन्। बुधबार विद्यार्थीहरूको समूहले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।
विद्यार्थीहरूले विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीअन्तर्गत सबै शंकायका प्रश्नपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध गराउनुपर्ने बताएका छन्।
शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायका अनुसार विश्वविद्यालयका अधिकांश विषयहरू नेपाली भाषामा पढाइने भए पनि प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै आउने गरेका छन्। “सबै विषयका पाठ्यक्रमहरू नेपालीमै पढाइन्छन् र उत्तर पनि नेपालीमै लेखिन्छ। तर, प्रश्नपत्र भने अंग्रेजीमा मात्रै हुँदा विद्यार्थीहरूलाई कठिनाइ हुने गरेको छ,” उनले बताए।
विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने निर्णय लागू गरिसकेको उदाहरण दिँदै मध्यपश्चिम विश्वविद्यालयमा पनि यो व्यवस्था लागु गर्न आग्रह गरेका छन्।
परीक्षा व्यवस्थापन प्रमुख डा. दीपक अधिकारीले विद्यार्थीहरूको मागलाई जायज ठहर गर्दै यसबारे सक्दो प्रयास गरिने बताएका छन्। “विद्यार्थीहरूको माग महत्वपूर्ण छ। यसलाई कार्यान्वयनका लागि विश्वविद्यालयमा छलफल अघि बढाउनेछौं,” अधिकारीले प्रतिक्रिया दिए।
यस मागले मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक र प्रशासनिक प्रक्रियामा थप सुधारको सम्भावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस्