सुर्खेत – दशै-तिहार बिदापछि पनि नलगाड नगरपालिका वडा नं १० स्थित समाज परिवर्तन प्राथमिक विद्यालय ध्यारगाउँ सञ्चालनमा आउन सकेको छैन। स्थानीयले दिएको जानकारीअनुसार विद्यालय बन्द हुँदा करिब ४०-४५ जना विद्यार्थीको पढाइ प्रभावित भएको छ।

विद्यालयमा दुई जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन्। तर, प्रधानाध्यापक काठमाडौँमा बुबाको उपचार गर्न गएको र अर्का शिक्षक दुई हप्ता अघिदेखि सुर्खेतमा परीक्षा दिन गएका कारण विद्यालय सञ्चालन हुन नसकेको वडा अध्यक्ष सम्झना रोकाले बताइन्।

वडा अध्यक्ष रोकाका अनुसार विद्यालय अहिले कार्यालय सहयोगीको जिम्मामा छ। उनले विद्यालयतर्फ पर्याप्त ध्यान दिन नसकेको स्वीकार गर्दै विद्यालय व्यवस्थापनप्रति चासो राख्ने प्रतिबद्धता जनाइन्। अध्यक्ष रोका २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन्।

स्थानीयहरूले भने विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको शैक्षिक यात्रा अवरुद्ध भएको भन्दै चासो व्यक्त गरेका छन्। उनीहरूले विद्यालय सञ्चालन गर्न तत्काल पहल गरिनुपर्ने माग राखेका छन्।

मिडियाले अध्यक्ष रोकालाई सम्पर्क गर्दा कहिले कार्यालय सहयोगी चङ्खलाल बानियाँलाई प्रधानाध्यापक हुन त कहिले विद्यालय पुनः सञ्चालनबारे निश्चित जानकारी दिन नसकेको आरोप छ।  यस्तो अव्यवस्थाले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पर्ने स्पष्ट देखिन्छ।

अभिभावक र स्थानीय तहको ध्यान जान आवश्यक

विद्यालय सञ्चालनमा ढिलाइले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पर्न सक्ने भएकाले स्थानीय तह र सरोकारवालाले तत्काल समस्या समाधान गर्न कदम चाल्नुपर्ने स्थानीयहरूको माग छ।