सुर्खेत – अमेरिकाको भर्जिनिया स्थित चान्टिलीमा शुक्रबार बिहानै एउटा कार रुखमा ठोक्किएर पल्टिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। दुर्घटना लाउडौन काउन्टी पार्कवे र टाल सेडार्सपार्कवेको छेउमा भएको थियो, जुन डुलेस इन्टरनेशनल एयरपोर्टको ठीक दक्षिणमा पर्दछ। चारजना सवार मुस्ताङ फोर्ड कारको दुर्घटना करीब १२:३० बजे भएको र चारै जना नेपाली नागरिक रहेको एनबिसी वासिङ्टनले जनाएको छ।

मृत्यु भएका व्यक्तिहरूमध्ये एक जना रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेका छन्। केसी केही महिना अघि अवैध बाटोबाट अमेरिका पुगेका थिए। अन्य घाइतेको उपचार भइरहेको छ, र प्रहरी अनुसार एक जना नेपालीको स्वास्थ्य अवस्था जाँच भइरहेको छ।

प्रहरीका अनुसार कार चालक ३० वर्षीय विजय तामाङलाई मदिरा सेवन गरेर गाडी चलाएको आशंका गरिएको छ। घटनामा तामाङलाई नियन्त्रणमा लिइएको छ र अस्पतालमा उपचार गराएपछि उनलाई जेल पठाइने तयारी गरिएको छ।

अधिकारीहरूले दुर्घटनाका कारणहरूको बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।