सुर्खेत- मानव सेवा आश्रम सुर्खेत शाखाको भवन निर्माणका लागि सञ्चालन भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भोलि (मंसिर २४) वरिष्ठ हास्य कलाकार किरण केसी र शिवहरि पौडेल आउने भएका छन्।

खाना, नाना, र छाना बिहीन मानिसहरूको सेवामा लामो समयदेखि क्रियाशील मानव सेवा आश्रमले देशभर शाखाहरू सञ्चालन गर्दै आएको छ। “जसको कोही हुँदैन, त्यसको साथी मानव सेवा आश्रम” भन्ने नाराका साथ अघि बढेको यस संस्थाले सुर्खेतमा पनि भवन निर्माणको काम अघि बढाएको छ। यही उद्देश्यलाई सहयोग गर्न मंसिर २१ देखि २८ सम्म सुर्खेतको खुलामञ्चमा श्रीमद् भागवत सप्ताह महायज्ञ सञ्चालन भइरहेको छ।

महायज्ञको सफलताका लागि हास्य कलाकार केसी र पौडेल उपस्थित हुने जानकारी मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले दिएका छन्। उनका अनुसार महायज्ञ अवधिभर विभिन्न कलाकारहरूको समेत उपस्थिति रहनेछ।

महायज्ञबाट संकलन हुने आर्थिक सहयोग आश्रमको भवन निर्माणमा खर्च गरिनेछ। मानव सेवा आश्रमले विगतदेखि बेसहारा, असहाय, र समाजबाट बेवास्तित व्यक्तिहरूको संरक्षणमा काम गर्दै आएको छ।