सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा BYD को नयाँ सोरुम सञ्चालनमा आउने भएको छ। स्वर्णिम भेन्चर्स ग्रुपअन्तर्गत आइडियल सोलुसन प्रालि र सञ्चालक विजय शर्माको संयुक्त लगानीमा सोरुम सञ्चालनमा ल्याउन लागिएको हो।

कर्णाली प्रदेशका नागरिकलाई विद्युतीय सवारीसाधनमा सहज र छिटो पहुँच पुर्‍याउने उद्देश्यले सुर्खेतमा सोरुम स्थापना गर्न लागिएको सञ्चालक विजय शर्माले बताए। उनका अनुसार सोरुमलाई सुर्खेतमा मात्र सीमित नराखी कर्णाली प्रदेशका १० वटै जिल्लाका ग्राहकलाई लक्षित गरी सञ्चालन गर्ने तयारी गरिएको छ। “कर्णालीका १० वटै जिल्लाका नागरिकले सहज रूपमा विद्युतीय गाडी खरिद गर्न सकून् भन्ने उद्देश्यले सुर्खेतमा सोरुम ल्याउन लागिएको हो,” शर्माले भने।

उनका अनुसार कर्णालीका विभिन्न जिल्लाबाट विद्युतीय सवारीसाधनप्रति चासो बढ्दै गएको छ। सोरुम औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २५ वटाभन्दा बढी गाडी बुकिङ भइसकेको जानकारी शर्माले दिए।

नेपालमा BYD को बढ्दो बजार

शर्माका अनुसार BYD ले नेपालमा पनि विद्युतीय सवारीको बजारमा उल्लेख्य उपस्थिति बनाएको छ। नेपालमा BYD का १० हजारभन्दा बढी युनिट बिक्री भइसकेको र ४५ प्रतिशतभन्दा बढी कभरेज रहेको उनले बताए। उनका अनुसार BYD का सवारीसाधनको न्यूनतम मूल्य करिब ३० लाख रुपैयाँ वा सोभन्दा माथिबाट सुरु हुने र ग्राहकको आवश्यकता तथा बजेटअनुसार विभिन्न मोडल उपलब्ध हुनेछन्। “नेपालमा विद्युतीय गाडीको बजार विस्तार हुँदै गएको छ। BYD ले पनि नेपाली बजारमा राम्रो उपस्थिति बनाएको छ। अब कर्णालीका ग्राहकलाई पनि त्यही स्तरको पहुँच र सेवा सुर्खेतबाटै दिने हाम्रो उद्देश्य हो,” शर्माले बताए।

सोरुम आउनुअघि नै २५ भन्दा बढी बुकिङ

BYD को सोरुम सञ्चालनमा आउनुअघि नै ग्राहकबाट प्राप्त बुकिङले कर्णालीमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेको संकेत गरेको शर्माको भनाइ छ। “सोरुम सञ्चालनमा आउनुअघि नै २५ वटाभन्दा बढी गाडीको बुकिङ भइसकेको छ। यसले कर्णालीमा विद्युतीय गाडीप्रतिको चासो र सम्भावना राम्रो रहेको देखाउँछ,” शर्माले बताए।उनका अनुसार सोरुम सञ्चालनमा आएपछि ग्राहकले विभिन्न मोडलका गाडी हेर्न, टेस्ट ड्राइभ गर्न, खरिद गर्न तथा बिक्रीपछिको सेवा सुर्खेतमै प्राप्त गर्न सक्नेछन्।

कर्णालीको सडक र आवश्यकतालाई ध्यानमा राखेर गाडी

सञ्चालक शर्माका अनुसार कर्णाली प्रदेशको भौगोलिक अवस्था तथा सडक संरचनालाई मध्यनजर गर्दै ग्राहकको आवश्यकता र प्रयोगअनुकूल विद्युतीय सवारी उपलब्ध गराउने तयारी गरिएको छ। विशेषगरी राम्रो ग्राउन्ड क्लियरेन्स, सहज रूपमा स्पेयर पार्ट्स उपलब्ध हुने व्यवस्था, आफ्नै सर्भिस सेन्टर, बिक्रीपछिको सेवा र उचित मूल्यलाई प्राथमिकतामा राखिने उनले बताए।

“हामीले गाडी बिक्री गर्ने मात्र होइन, बिक्रीपछि ग्राहकलाई आवश्यक पर्ने सेवा र स्पेयर पार्ट्स पनि सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेका छौँ। कर्णालीको सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर ग्राहकका लागि उपयुक्त गाडी उपलब्ध गराउनेछौँ,” शर्माले भने।

कर्णालीमा विद्युतीय गाडीको बजार विस्तार गर्ने लक्ष्य

नेपालमा जलविद्युत उत्पादनको सम्भावना उच्च रहेको र पेट्रोलियम पदार्थको मूल्य तथा आयातमा निर्भरता रहेको अवस्थामा विद्युतीय सवारीको बजार विस्तारको सम्भावना रहेको शर्माको भनाइ छ। नेपालमै उत्पादन हुने विद्युतलाई यातायात क्षेत्रमा प्रयोग गर्न सके पेट्रोलियम पदार्थको आयातमा हुने खर्च घटाउन सहयोग पुग्ने उनको धारणा छ।BYD ले विश्व बजारमा नयाँ ऊर्जा सवारीसाधनको क्षेत्रमा ठूलो बजार निर्माण गरेको छ। कम्पनीका अनुसार मे २०२६ को अन्त्यसम्म BYD का नयाँ ऊर्जा सवारीसाधन (NEV) को संचयी बिक्री १ करोड ६५ लाखभन्दा बढी पुगेको छ।

नेपालमा पनि BYD का विभिन्न विद्युतीय मोडल बिक्री हुँदै आएका छन्। सुर्खेतमा नयाँ सोरुम सञ्चालनमा आएपछि कर्णालीका ग्राहकले विद्युतीय गाडी खरिद तथा बिक्रीपछिको सेवाका लागि अन्य ठूला सहरमा निर्भर हुनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।

स्थानीय ग्राहकमा पनि बढ्दो चासो

सुर्खेतमा BYD को सोरुम आउन लागेको खबरले स्थानीय ग्राहकमा समेत चासो बढेको छ। विशेषगरी गाडी खरिदपछि सर्भिस, स्पेयर पार्ट्स तथा प्राविधिक सहयोगका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा स्थानीय ग्राहकको छ। सञ्चालक शर्माका अनुसार सोरुमलाई आधुनिक र व्यवस्थित बनाउँदै कर्णालीका १० वटै जिल्लाका ग्राहकलाई बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने गरी सञ्चालन गर्ने तयारी भइरहेको छ।

“कर्णालीमा ब्रान्ड ल्याउनु मात्र हाम्रो उद्देश्य होइन। ग्राहकले विश्वास गर्न सक्ने सोरुम, गुणस्तरीय सेवा र बिक्रीपछिको सुविधासहितको वातावरण निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो,” शर्माले बताए। सोरुम सञ्चालनमा आउनुअघि नै २५ वटाभन्दा बढी बुकिङ भइसकेको र कर्णालीका विभिन्न जिल्लाबाट विद्युतीय गाडीप्रति चासो बढिरहेको अवस्थाले सुर्खेतमा विद्युतीय सवारीको बजार विस्तारको सम्भावना देखाएको सञ्चालक शर्माको भनाइ छ।