जाजरकोट,: जाजरकोट नलगाडमा गएराति जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्। बुधबार राति ९:३० बजे नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर ३ कैन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक सडकबाट करिब ८ सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाइतेहरूलाई ल्याएको थियो। अस्पतालले पाँचै जनालाई मृत घोषणा गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
दुर्घटनामा नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक गम्भीर घाइते भएका छन्। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विकलाई सामान्य उपचारपछि घर फर्काइएको डिएसपी पाण्डेले बताए।
प्रहरीका अनुसार जिप ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने जिपमा सात जना सवार थिए।
प्रतिक्रिया दिनुहोस्