सुर्खेत । सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सुर्खेत जिल्लामा डेङ्गी रोगका १०२ जना बिरामी भेटिएका छन् ।
सुर्खेतमा डेङ्गी रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले बताए । ‘अहिले सबैले कोरोनाको परीक्षण मात्र गराउँछन् ।’ उनले भने,‘सुर्खेतमा कोरोनासँगै डेङ्गी रोगका बिरामी पनि भेटिन थालेका छन् ।’
सुर्खेतमा भेटिएका डेङ्गी रोगका बिरामीमध्ये सबैभन्दा बढी बजार क्षेत्रका रहेको प्रमुख वाग्लेले जानकारी दिए । ‘सुर्खेतमा भेटिएका डेङ्गी रोगमा १०२ जना बिरामीमध्ये वीरेन्द्रनगरका ९० जना रहेका छन् ।’ उनले भने,‘त्यो पनि वीरेन्द्रनगरको बजार क्षेत्र रहेको वडा नं. ६ का मात्र ३४ जना छन् ।’
गत आर्थिक वर्षमा सुर्खेतमा १३३ जनामा डेङ्गी रोगका बिरामी भेटिएको तीमध्ये ९९ जना वीरेन्द्रनगर बजार क्षेत्रका रहेको प्रमुख वाग्लेले जानकारी दिए ।
अहिले कोरोना महामारीसँगै डेङ्गी रोगका बिरामी पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा लामखुट्टे लगाएतका अन्य किटाणुबाट सर्ने रोगका लागि उर्वर भूमी रहेको वाग्लेले बताए । ‘प्रयोगशालाको परीक्षणबाट सुर्खेत किटजन्य रोगका लागि उर्वर भूमी हो ।’ उनले भने,‘कालाजार, औलो र डेङ्गी रोगका बिरामी धेरै रहेका छन् ।’
डेङ्गी रोग नियन्त्रणका लागि स्थानीय टोल विकास, समिति महिला स्वंयमसेविका, स्थानीय जनप्रतिनीधिसँग सहकार्य गरेर समुदायस्तरमा लामखुट्टेका लार्भा मार्ने अभियान थालिएको प्रमुख वाग्लेले जानकारी दिए ।