जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर ८ मालुवातरामा अवस्थित गणेश प्राथमिक विद्यालयमा हाल उल्लेखनीय सुधार भएको विद्यालयका शिक्षक फनेन्द्र केसीले बताएका छन्। भूगोलले पछाडि परेको कर्णाली प्रदेशमा गएको कार्तिक १७ गतेको भूकम्पले विद्यालयहरू क्षतविक्षत बनाएको थियो। यस कारण विद्यार्थीहरू अस्थायी आवास र खुला चौरमा पढ्न बाध्य भएका थिए।
लामो समयको कठिनाइपछि विभिन्न संघसंस्थाहरूको सहयोगबाट विद्यालय पुनःनिर्माण र सुधारका कार्यहरू तीव्र रूपमा अघि बढेका छन्। गणेश प्राथमिक विद्यालयमा अस्थायी आवास निर्माण गरिनुका साथै कार्यालय कक्ष, शौचालय, कार्पेट, दराज, झ्याल, र अन्य सामग्रीहरूको व्यवस्थापन केसीले बताए।
शिक्षक फनेन्द्र केसीका अनुसार पहिले विद्यार्थीहरू कार्पेटमा बसेर पढ्ने गर्थे भने अहिले बेन्च र टेबलको प्रयोग गरिरहेका छन्। विद्यालयमा भौतिक सुधारका साथै भवनको रङरोगन, साइनबोर्ड मर्मत, र फिल्ड व्यवस्थापनसमेत विध्यालय प्रधानाध्यापक बिरेन्द्र बहादुर बुढाले बताए।
विद्यार्थीहरूलाई प्रोत्साहन गर्न शुक्रबारे कार्यक्रममा पुरस्कार वितरणको चलन थालिएको छ। कापी, कलम, इरेजर, हाते रुमाल, चकलेट, साबुनजस्ता सामग्रीहरू प्रदान गर्दै विद्यार्थीहरूको मनोबल उच्च बनाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर बोहराका अनुसार विद्यालयलाई सुन्दर र व्यवस्थित बनाउन शिक्षकमात्र नभई अभिभावक र स्थानीय समुदायको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। नियमित सञ्चालन भइरहेको विद्यालयले अब सुन्दर वातावरणमा उत्कृष्ट पठनपाठन गराउन सहयोग पुर्याइरहेको छ।
प्रतिक्रिया दिनुहोस्