सुर्खेत– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा दुई बालिका आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३ वर्षीया करिश्मा राना र ६ महिनाकी राघवी राना हुन्।

घटना बुधबार पौने ३ बजे सार्वजनिक भएको हो। बालिकाहरूको शवमा घाँटीमा निलडाम देखिएको र मृत्यु शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

न्यौपाने का अनुसार बालिकाका बुवा टेकमान राना रोजगारीका लागि नुवाकोटमा रहेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाहरूकी आमा पूर्णिमा रानाले आफ्नै छोरीहरूको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।