
भारतको जम्मु कश्मीरस्थित वैसरण उपत्यकामा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका रूपन्देही बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव बिहीबार बिहान नेपाल ल्याइएको छ।
शव नयाँ दिल्ली हुँदै लखनउबाट हवाईमार्गमा ल्याएर बेलहिया नाका पार गरी सडकमार्गमार्फत बुटवल ल्याइएको हो। रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले शव परिवारको जिम्मा लगाइएको जानकारी दिएका छन्।
बुटवल–११ मनकामना पथस्थित घरमा आजै शव लगिने र अन्त्येष्टि गरिने वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए।
शनिबार आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग घुम्न गएका सुदीप मंगलबार दिउँसो आतंकवादी आक्रमणमा परेका थिए। गोली लागेर घटनास्थलमै उनको निधन भएको थियो। आमा रिमाकला भाग्ने क्रममा सामान्य घाइते भएकी छन् भने अन्य दुईजना सकुशल छन्।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त आक्रमणमा सुदीपसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ, जसमा दुई जना विदेशी नागरिक समेत छन्।
दुर्घटनाको खबर पाउँदा उनका बुवा ध्रुव न्यौपाने काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्