सुर्खेत, वैशाख — लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति निधन भएको छ। राउटे समुदायसँग कार्यरत संस्था सोसेक नेपालका अनुसार उनको मृत्यु राति साढे ९ बजेतिर भएको हो।

शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा परम्परागत रूपमा तीन जना मुखिया रहने व्यवस्था छ। सूर्यनारायण शाही २०७२ सालको जेठ महिनामा मुखियाको जिम्मेवारीमा आएका थिए।

हाल राउटे समुदाय दुई समूहमा विभाजित भएर बस्दै आएको छ। सूर्यनारायण नेतृत्वको समूह सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा बसोबास गरिरहेको थियो। अर्को समूह भने वीरेन्द्रनगर–१३ को करेखोलामा दुई मुखियासहित टहरो जीवन बिताइरहेका छन्।

मुखिया शाहीको निधनसँगै समुदायमा नेतृत्व रिक्त भएको छ भने राउटे जनसंख्या पनि घट्दै गएको छ। हाल देशभर राउटेहरूको संख्या घटेर मात्र १३५ पुगेको छ।