कर्णाली प्रदेश सरकारमा सहभागी काँग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले शपथ लिएका हुन् ।

नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयमा काँग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरी ४ जना मन्त्री भइसकेका छन् । एमालेबाट मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, कृषि मन्त्रीमा विनोद शाह र राज्यमन्त्रीमा गमाता बिक नियुक्त भइसकेका छन् ।