सुर्खेत। दृष्टि नेपालले आयोजना गरेको कर्णाली युवा जागरण कार्यक्रम आगामी श्रावण २५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न हुने भएको छ। कर्णाली प्रदेशमा छरिएर रहेका करिब ८० जनाभन्दा बढी युवाहरूलाई एकै ठाउँमा जुटाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा “युवाका चिन्तन र कर्णालीमा युवाको भविष्य के?”, “युवालाई उद्यमसंग कसरी जोड्ने?”, “जलवायु परिवर्तन न्यूनीकरणमा युवाको भूमिका के?”, र “समाज सुधारमा युवाको योगदान” जस्ता विषयमा वृहत् छलफल गरिनेछ। दृष्टि नेपालका अध्यक्ष जिवराज के.सि. ले युवाहरूलाई समाज र प्रदेशको समृद्धिमा सक्रिय सहभागिता गराउनका लागि यस कार्यक्रमको विशेष महत्व रहेको बताएका छन्।

अध्यक्ष के.सि. ले भने, “कर्णाली संस्कृति र प्राकृतिक गहना हो। यसलाई चिनाउन र जोगाउन युवाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। युवा उमेर मात्र नभई एक सोच हो। अब कर्णालीका युवाले रचनात्मक रूपले अगाडि बढ्नु र देखिने गरी केही महत्वपूर्ण कदम चाल्नु आवश्यक छ। त्यसैले युवाहरूलाई प्रेरित गर्न यो कार्यक्रमको आवश्यकता र औचित्य रहेको छ।”

यसैबीच, २४ गते सिद्धार्थ सभाहलमा भएको पत्रकार सम्मेलनमा जलवायु परिवर्तन र यसको न्यूनिकरण सम्बन्धी विषय विज्ञहरुसँग छलफल गरिने जनाइएको छ । जलवायु परिवर्तनको अवस्था, कर्णालीमा यसको प्रभाव, मानव स्वास्थमा परेका असरका बारेमा गहन छलफल गरिने दृष्टि नेपालका अध्यक्ष जिवराज केसीले बताए । कार्यक्रममार्फत युवालाई उद्यमसँग जोडन तीनै तहका सरकारले गरेका पहल, नीतिगत व्यवस्था र तिनको कार्यन्वयनमा युवाको भूमिका बारे छलफल गरिने उनले बताए ।

कार्यक्रम सिद्धार्थ सहकारीको सभाहलमा विहान १० बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा प्रमुख वक्ताहरु कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा. सुदीप ठकुरी, डाक्टर नवराज केसीलगायत रहने आयोजकले जनाएको छ । कार्यक्रमा प्रदेशभरबाट एक सय ५० जना युवाहरुको सहभागिता रहनेछ ।