सुर्खेत भाद्र २४, – मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतस्थित स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को सभाहलमा इरास्मस रोडशो (Erasmus Roadshow) कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको उपस्थितिमा सम्पन्न भएको यो कार्यक्रम इरास्मस नेपालद्वारा आयोजित थियो।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, र नेपालस्थित युरोपियन युनियनको कार्यालयको समन्वयमा सञ्चालित यस कार्यक्रममा Erasmus Mundus छात्रवृत्तिबारे विस्तृत जानकारी दिएको थियाे । यो कार्यक्रम विद्यार्थी र प्राध्यापकहरूलाई आवेदन प्रक्रिया, बायोडाटा (CV) र मोटिभेसन लेटर लेखनमा सहजीकरण गर्दै क्षमता विकासका लागि लक्षित गरिएको गौतमले जानकारी दिनुभयो ।

प्रमुख वक्ता उपकुलपति प्रा. डा. गौतमले इरास्मस कार्यक्रमले विद्यार्थी र प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्दै विश्वप्रसिद्ध Erasmus Mundus छात्रवृत्ति मार्फत उच्च शिक्षा आर्जन गरी देशको विकासमा योगदान दिन सकिने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, पदाधिकारीहरू, प्राध्यापक, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। साथै, मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका पूर्व प्रमुख तेजविक्रम बस्नेतको पनि सहभागिता रहेको जानकारी सन्देश थापाले दिएका छन्।