मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा अवरोध: उच्च अदालतद्वारा तारिख तोकियो
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समिति र मतदान अधिकृत सहितको टोली निर्वाचनका सबै तयारीहरू पूरा गरिसकेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।
उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतको संयुक्त इजलासले २०८१ भदौ २७ मा जारी गरिएको अल्पकालीन आदेशलाई २०८१ आश्विन ६ गते निरन्तरता दिनु नपर्ने आदेश दिएको छ। साथै, रिट दायर गर्ने निवेदकहरूलाई २०८१ कार्तिक २ मा अदालतमा हाजिर हुन तारिख तोकिएको हुँदा, मुद्दा हाल अदालतमा विचाराधीन रहेको जानकारी दिइएको छ।
यसैबीच, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठाउँदै नेपाल विद्यार्थी संघले २०८१ आश्विन ८ मा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा विश्वविद्यालयको कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा दशैं, तिहार, छठलगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक र कर्मचारीहरूको तलव, भत्ता निकासा तथा अन्य आर्थिक र प्रशासनिक काम प्रभावित हुने मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाइएको छ।
विश्वविद्यालयले उच्च अदालतको पूर्ण फैसला प्राप्त भएपछि विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघ, संगठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा निर्वाचनको नयाँ मिति र कार्यक्रम निर्धारण गरी समयमै निर्वाचन गर्न विश्वविद्यालय तयार रहेको जनाउँदै अविलम्ब तालाबन्दी खुलाउन र निर्वाचनको वातावरण बनाउने अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्