मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
सुर्खेत, – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने छ।
प्रवक्ता सापकोटाले सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिने जानकारी दिए। उम्मेदवारको विरोधमा उजुरी दिनका लागि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी मंसिर ४ गते बेलुका ५ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।
मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिनका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यस्तै, उम्मेदवारलाई दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन आयोगका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। प्रचारप्रसारको लागि मंसिर १३ गते राति १२ बजेपछि निषेध अवधि लागू हुने पनि आयोगले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्