जाजरकोट, नलगाड नगरपालिका– नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्।

१३ मध्ये ७ वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले सयुक्त रुपमा कार्यवाहक नगरप्रमुख कैशिबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। वडा नं. ४ का वडाध्यक्ष बद्री पन्तले दुई दिनभित्र समस्या समाधान नभए धर्ना र विशेष सभा गर्ने चेतावनी दिए।

उनका अनुसार नगरप्रमुख रावतको रवैयाका कारण अस्थायी आवासको दोस्रो किस्ता वितरणमा ढिलाई भएको छ। शिक्षक, कर्मचारीको तलब रोकिएको, सामाजिक सुरक्षा भत्ता अवरुद्ध भएको, र करारका कर्मचारीको म्याद थपसमेत प्रभावित भएको छ।प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले नगरपालिकामा काम गर्न थालेको लगभग तीन महिना हुन लाग्दा पनि नगरप्रमुखले उनलाई आर्थिक अधिकार प्रदान गर्न आनाकानी गरिरहेको आरोप छ।

यसका कारण भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माणको दोस्रो किस्ताको रकम बैङ्कमा रोकिएको छ भने विकास निर्माणका कामहरू समेत ठप्प भएका छन्।यसबीच नगरप्रमुख रावत भने काठमाडौँमा बसेको आधा महिना भैसक्दा पनि फर्कने सङ्केत देखिएको छैन। नलगाडका जनताले भोगिरहेको समस्यालाई नजरअन्दाज गर्दै नगरप्रमुखले काठमाडौंमा समय बिताइरहेको स्थानीयहरूको गुनासो छ।