
जाजरकोट जिल्लाको नलगाड नगरपालिकाअन्तर्गतको नगर अस्पतालमा औषधि र आधारभूत उपचार सेवा नपाइने गरेको गुनासो स्थानीयवासीहरूले गरेका छन्।
स्थानीयहरूका अनुसार अस्पतालमा कुनै पनि समस्या लिएर जाँदा तुरुन्त उपचार पाउन मुस्किल हुने गरेको छ। अस्पतालमा डाक्टरको उपस्थिति अनियमित रहेको भन्दै सेवाग्राहीहरू असन्तुष्ट छन्। “कहिले डाक्टर हुन्छन्, कहिले हुँदैनन्, कहाँ छन् भनेर सोध्दा पत्ता लाग्दैन,” एक स्थानवासीले भने।
अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार नगरपालिकाले अस्पतालको अवस्था र सेवाप्रति खासै चासो देखाएको छैन। “कागजमा कर्मचारी छन्, तर व्यवहारमा सेवा छैन,” उनले बताए।
अस्पतालका बिषेशज्ञ डा, नविन ध्यार भन्छन्, “यहाँ कर्मचारी नभएका होइनन्, तर भएका मध्ये पनि केही हटाउनु पर्ने अवस्था छ। जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा यति लापरवाही हुनु गम्भीर विषय हो।”
नलगाड–२, डाँडागाउँकी एक महिलाले पिसाब सम्बन्धी समस्या लिएर अस्पताल जाँदा झनै दुःख भोग्नुपर्यो। रिपोर्टिङका लागि अस्पतालमै पुग्नुभएका पत्रकार दिपेन्द्र शर्माका अनुसार, ती महिलाको पिसाब निकाल्न पाइप राख्ने क्रममा नर्सले पाइप गलत स्थानमा राखेपछि बिरामीले थप पीडा सहनुपर्यो। अस्पताल प्रमुख विशालका अनुसार, पाइप गलत रूपमा राखिएको पुष्टि भए पनि नर्सलाई हल्का झपारेर अर्को पाइप फेरि राखिएको थियो।
यस्तो लापरवाही देखिँदासमेत नगरपालिकाले कुनै प्रतिक्रिया नजनाउनुप्रति सेवाग्राहीहरूले आक्रोश व्यक्त गरेका छन्।
यता, स्थानीयवासीहरू बताउँछन् कि पूर्व नगरप्रमुख टेकबहादुर रावलको पालामा भने अस्पतालको रेखदेखमा ध्यान दिइन्थ्यो। “उहाँ बेला–बेला अस्पताल निरीक्षणमा जानुहुन्थ्यो, अहिले त्यो संस्कार हरायो,” एकजना स्थानीयले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्