कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आजदेखि १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलको उद्घाटन गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री भण्डारीले कर्णालीमा खेल पूर्वाधार निर्माणका लागि सरकारले विशेष ध्यान दिएको उल्लेख गरे। उनले खेलाडीहरूलाई खोला किनारमा अभ्यास गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै, त्यसलाई सम्बोधन गर्न खेल पूर्वाधार निर्माणका योजनाहरू अघि बढिरहेको बताए। साथै, अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार खेल मैदान निर्माण गर्न सरकार समन्वयकारी भूमिकामा रहेको उनले बताए।

प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले पनि कर्णालीमा क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी गराए। आसन्न दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलकुद गतिविधि र पूर्वाधार विस्तारमा सरकारले उच्च प्राथमिकता दिएको उनले बताए।

नेपाल क्रिकेट संघ, कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले खेलकूदको विकासका लागि सरकारलाई धन्यवाद व्यक्त गर्दै, यस कार्यमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए। प्रतियोगिताको उद्घाटन खेल रुकुम पश्चिम र सुर्खेतबीच सुरु भएको छ।