दीपावलीको समयमा पटाका पड्काउँदा दैलेखका एक जना १३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमबहादुर कठायतका छोरा भूपेन्द्र कठायत हुन्, जो आठबिस नगरपालिका – ३ साई गाउँ निवासी हुन्।

पारिवारिक स्रोतका अनुसार, भूपेन्द्रलाई दीपावलीको रकेट बमको छर्रा दायाँ छातीमा लागेको थियो। घाइते अवस्थामै उनलाई अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरेकाे बताएको छ।

भूपेन्द्र स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए र आर्थिक समस्याका कारण उनका बुवा आमासँगै भारतमा रहेका थिए। छिमेकी नवकिशोर न्यौपानेका अनुसार, भूपेन्द्र ५ छोरी र दुई छोरामध्ये जेठो छोरा हुन्।

घटना भारतमा भएको कारण जिल्ला प्रहरी कार्यालय दैलेखले आवश्यक जानकारी संकलन गर्ने प्रक्रिया अघि बढाएको प्रमुख (डिएसपी) सुनिल दाहालले जानकारी दिए।