नेपालगन्ज २१ भदौ :  निषेधाज्ञाका बेला बैंक तथा वित्तीय संस्था समेत बन्द हुन्छन् । बैंक बन्द भएको बिकल्पमा मान्छेका लागि पैसाको गर्जो टार्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको एटिएम पनि हो ।

तर त्यही एटिएम पनि भरपर्दो नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । उदाहरणका लागि बाँकेलाई नै लिउँ ।

पश्चिमकै प्रमुख वित्तीय कारोवार हुने ठाउँमा हरप्रकारका बैंकका शाखाहरु छन् । बैंक तथा वित्तीय संस्थाका शाखाहरु असंख्यक भए पनि उनीहरु मध्ये अधिकांसका एटिएम प्रभावकारी छैनन् । सुर्खेत भेरीगंगाका लक्ष्मण कार्की बुवाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज आए । उपचारकै क्रममा पैसा सकियो ।

आउजाउ बन्द भएकाले बैंकमै पैसा पठाउनुको बिकल्प थिएन । बैंक बन्द भएकाले शुक्रवार सांझ एटिएमबाट पैसा झिक्न आफ्नो खाता भएको बैंक गए । तर एटिएमले पैसा दिएन प्राविधिक समस्याले हाललाई सेवा बन्द गरेको सूचना दियो ।

कार्की भन्छन्–‘त्यसपछि अरु बैंकमा गए । एटिएम कि त बन्द छन् होइन भने कुनै न कुनै समस्या देखा पर्छन । पैसाका लागि बिपीचोेकदेखि धम्वोझी धाउँदा धाउँदा हैरान परियो ।’
जतिबेला पनि पैसा झिक्न बेला गरी बनाइएको एटिएमले अहिले होइन पहिलेदेखि नै सेवाग्राहीलाई धोका दिदै आएको छ । मुस्किल अवस्थाको सारथी बन्नुपर्ने एटिएमलाई बैंकहरुले चुस्तदुरुस्त राख्ने गरेका छैनन् ।

झन् अहिलेको कठिन अवस्थामा र डिजिटल सेवा लिन नसकेका सेवाग्राहीका लागि एटिएम नै एक मात्र बिकल्प हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एटिएम सेवा सन्चालन गर्न दिन अनुमति दिएको छ । बैंक नखुलेको अवस्थामा सेवाग्राहीले एटिएमबाट सेवा लिउन भनेर यो निर्णय गरेको भएपनि प्रभावकारी हुन सकेको छैन् ।

सेवाग्राही भन्छन्,–‘सबैमा यस्तो समस्या छ भन्ने खोजेको होइन तर अधिकांसको यस्तै छ । सरोकारवाला निकायले अनुगमन गरेर सचेत गराउनुपर्छ ।’ साभार: अर्थपेज.कम