२९ भदौ,काठमाडौँ।
काठमाडौं महानगरपालीका का मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् । गत १५ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित ५ तारे होटलमा सरेका हुन् ।

होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ । यद्यपि महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन चाहेन । स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।

पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्छन् भन्ने प्रश्नको उत्तर भने प्राप्त हुन सकेन । उपमेयर हरिप्रभा खड्कीले मेयर घरमै बसेको मात्रै आफूलाई जानकारी रहेको बताइन् । उनले भनिन, ‘होटलमा रहेकोबारे मलाई जानकारी भएन ।’ महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले पनि मेयर होटलको आइसोलेसनमा बसेको भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।