जाजरकोटको नलगाड नगरपालिकामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ। बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ बाउसेखोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा बारेकोट–२ लिम्सा गाउँका ओईला घर्ती, तुलसी पुन, धनकली थापा, आकास घर्ती, निलु सिंह, पद्मी घर्ती, र जैकली रोकाय घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष बद्री पन्तले जानकारी दिए। सामान्य घाइतेहरुको दल्लीस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई जिल्ला अस्पताल खलंगामा पठाइएको छ। दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ।

त्यस्तै, सोमबार बिहान करिब ११:३० बजे भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख १८९२ नम्बरको गाडी पनि कुदु नजिकै दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा १६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार सबै घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुई फरक दुर्घटनामा संलग्न २३ जना घाइते भएका छन् भने गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको छ।