सुर्खेत। मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको भव्य शुभारम्भ गरिएको छ। बुलबुल उद्यानबाट सुरु भएको शोभा कलश यात्रा बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, र भजनकीर्तनसहित सम्पन्न भएको थियो।

कलश यात्रा बिहान ९ बजे सुरु भई वीरेन्द्रनगरका मुख्य चोकहरू हुँदै खुलामञ्चमा १२ बजे विश्राम गरिएको हो। विभिन्न संघसंस्था, विद्यालय, टोल विकास समिति, नगरपालिकाका वडाहरू, र समुदायका करिब पाँच हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको यो यात्रा धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिले विशेष महत्वको थियो।

प्रदेश सरकारको पूर्ण सहयोगको प्रतिबद्धता


महायज्ञ उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवन निर्माणमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै भने, “मानवताका लागि सहयोग गर्नु सबैको कर्तव्य हो। यो पुण्य काममा सबैको साथ आवश्यक छ।” आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहले समेत सरकारी र व्यक्तिगत रूपमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

आश्रमको इतिहास र योगदान


२०७५ माघ १८ गतेदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको मानवसेवा आश्रमले आश्रयविहीनहरूलाई सेवा दिँदै आएको छ। आश्रम भवन निर्माणका लागि गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा प्रदान गरेको छ। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरे पनि थप पुँजी आवश्यक परेकाले महायज्ञ आयोजना गरिएको हो।

विशेष सहभागीता र आर्थिक संकलन योजना


महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गर्दैछन्। ख्यातिप्राप्त व्यक्तित्वहरू डा. सन्दुक रुइत, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, र शिवहरी पौडेल पनि कार्यक्रममा सहभागी हुनेछन्। महायज्ञबाट ५ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको छ।

विशेष योगदान दिने दाताहरूप्रति कृतज्ञता व्यक्त गर्दै आश्रमले एक करोड रुपैयाँ सहयोग गर्नेको नाममा भवनको ब्लक र शालिक निर्माण, ५१ लाख योगदानकर्ताका नाममा सभाकक्ष निर्माण, र ३१ लाखसम्म योगदानकर्ताका नाममा भान्सा तथा भोजनकक्ष निर्माण गर्ने घोषणा गरेको छ।

महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार यो महायज्ञ ऐतिहासिक मात्र नभई धार्मिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यतासँग पनि जोडिएको छ।