नेपालगञ्ज: बाँकेको जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवास्थित एक होटलको कोठामा अन्दाजी ३०–३५ वर्षका एक पुरुषको शव फेला परेको छ।
जानकी–६ मा दुलारे गडरियाको घरमा निर्मला चन्द ठकुरीले सञ्चालन गरेको हाईबे होटलको कोठा भित्र शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक पुरुष हल्का छोटो दार्ही र जुँगाको साथमा कालो छोटो कपाल भएका छन्। उनको उचाइ अन्दाजी ५ फिट १ ईन्च रहेको छ भने उनी सेतो रंगको टी-शर्ट र कालो जिन्स लगाएका थिए।
प्रहरीले शव फेला परेको दिनदेखि पहिचान गर्ने प्रयास गरे पनि हालसम्म मृतकको परिचय खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेसँग सहकार्य भइरहेको छ।
प्रहरी निरीक्षक हरि भट्टराईले मृतकको पहिचान र घटनाको कारण पत्ता लगाउन अन्य जिल्लामा पनि पत्राचार गरिएको जानकारी दिए। जाजरकोटबाट घटनाबारे थप विवरण मागिएको छ।
अहिलेसम्म घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्