सुर्खेत— पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडकखण्डको बिजौरीमा आज बेलुका स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

राप्ती गाउँपालिका-८ बिजौरी निवासी २० वर्षीय किसन शाहीलाई स्कुल बसले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार लमहीस्थित एक निजी विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गको लमही-भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन्।

यसअघि, सोही सडकखण्डमा हिजो बेलुका मालबाहक ट्रकको ठक्करबाट अर्को मोटरसाइकल चालकले पनि ज्यान गुमाएका थिए। उक्त दुर्घटनामा राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको हो।

स्थानीयले एकपछि अर्को दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको भन्दै उचित कदम चाल्न माग गरेका छन्।