कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गर्दै क्वालिफायर-२ मा प्रवेश गरेको हो।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। चितवनका लागि रवि बोपाराले ५३ रनको योगदान दिए। कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केन्सटाइनले १६ रन बनाए।
बलिङतर्फ कर्णालीका जिशान मक्सुदले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिएर कर्णालीको जित सुनिश्चित गरे।
यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो। कर्णालीका जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय इनिङ्स खेले। कोसावालाले ३९ बलमा ६ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए। बोसिस्टोले ३७ बलमा ५२ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्याए।
च्याडविक वाल्टनले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ४६ रनको अविजित पारी खेले। चितवनका लागि बलिङतर्फ सोहेल तानबिरले २ विकेट लिए भने कप्तान कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट हात पारे।
अब कर्णालीले क्वालिफायर-१ मा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसले फाइनल प्रवेशका लागि निर्णायक हुनेछ।
प्रतिक्रिया दिनुहोस्