सुर्खेत, २०८१ पुष २६ ,नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशस्तरीय समन्वयात्मक बैठक माघ २५ गते सुर्खेतमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले गरेका थिए। प्रमुख अतिथि रूपमा केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला तथा विशेष अतिथि चन्द्रबहादुर शाही र पोलिटब्युरो सदस्य हस्त बहादुर शाहीले बैठकलाई सम्बोधन गरे। कार्यक्रममा केन्द्रीय कमिटी, पोलिटव्युरो सदस्य, र अन्य सदस्यहरूको उपस्थिति थियो।

बैठकमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरूमा छलफल र निर्णय गरियो। प्रमुख रूपमा प्रस्तुत कार्यसूचीहरूमा निम्न विषयहरू समेटिएका थिए:

  1. राजनीति, आर्थिक प्रतिवेदन र समीक्षा
  2. पदपूर्ति र सचिवालय गठन
  3. जनसंगठनहरूको बैठक सञ्चालन
  4. सदस्यता नवीकरण र वितरण
  5. विकास निर्माण र जनसरोकारका विषयहरू: विकास निर्माण तथा जनसरोकारका मुद्दाहरूलाई प्राथमिकतामा राखी योजना अघि बढाउने निर्णय गरिएको छ ।

बैठकले कर्णाली प्रदेशमा पार्टीको संगठनात्मक र राजनीतिक सक्रियता अझै प्रभावकारी बनाउन साझा रणनीति तय गरेको छ। सहभागीहरूले प्रदेशका जनताको आवश्यकतामा आधारित नीति तथा कार्यक्रम लागू गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

केन्द्रीय कमिटी सदस्य एवं सुर्खेत जिल्ला सहइन्चार्ज बसन्त कुमार विश्वकर्माले कर्णालीका प्रमुख चुनौती र अवसरबारे धारणा राख्दै जातीय विभेद अन्त्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

उनका अनुसार, महिला, आदिवासी, जनजाति, र मजदुर वर्गका लागि लक्षित कार्यक्रमहरूमार्फत कर्णालीमा सामाजिक न्यायको सुनिश्चितता गर्दै समृद्धिको आधार निर्माण गर्न एकीकृत समाजवादी पार्टी प्रतिबद्ध छ।

“कर्णालीमा अझै पनि जातीय विभेद र सामाजिक अन्याय गहिरो छ। यो समस्याको समाधान बिना कर्णालीको समृद्धि सम्भव छैन,” विश्वकर्माले भने।

कर्णालीको समृद्धिका लागि अब एकीकृत समाजवादी पार्टीले विशेष ‘कर्णाली मार्गचित्र’ सहितको दस्तावेज तयार गर्ने योजना बनाएको उनले जानकारी दिए। यस दस्तावेजमा कर्णाली प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक रुपान्तरणका लागि दीर्घकालीन रणनीति समावेश हुने छ।

ठगेन्द्र प्रकाश पुरीले बैठक समापन गर्दै प्रदेशका जनताको सेवा र विकास निर्माणमा पार्टीले अझ क्रियाशील भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेश कमिटीको बैठक पुस २६ र २७ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ। हिजो सम्पन्न समन्वयात्मक बैठकमा प्रस्ताव गरिएको विभिन्न एजेन्डामाथि बृहत् छलफल गरिने तयारी गरिएको छ।