कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध पारेको छ। वार्षिक १० हजारलाई रोजगारी दिने सरकारी कार्यक्रम अलपत्र परेको भन्दै माओवादीले बैठक स्थगित गराएको हो।

बैठक कार्यसूचीमा प्रवेश गर्नु अघि नै माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारको उदासीनताबारे कडा आपत्ति जनाए। उनले कर्णालीका जनतालाई रोजगारी दिनेगरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै तीव्र विरोध जनाए।

माओवादी केन्द्रले उक्त कार्यक्रम अघि नबढेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएको छ। त्यसपछि उपसभामुख यशोदाकुमारी न्यौपानेले बैठकलाई आधा घण्टाका लागि स्थगित गरिन्।

हाल सर्वदलीय बैठक जारी रहेको छ, जहाँ समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ।