एक पालिका, एक खेलमैदान आवश्यक – मन्त्री शाह
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले “एक पालिका, एक खेलमैदान” नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुद क्षेत्र र खेलाडीहरूको समुचित विकासका लागि प्रत्येक पालिकामा खेल पूर्वाधार आवश्यक भएको उल्लेख गरे।
छेडागाड नगरपालिकामा आयोजित मेयर कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शाहले भने, “केन्द्रमा मात्र ध्यान दिएर खेलकुदको समुचित विकास सम्भव छैन। वडा र पालिका स्तरमै खेलाडी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ।” साथै, उनले खेल, शिक्षा, र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारहरूले बजेट छुट्याउनु पर्नेमा जोड दिए।
नगर प्रमुख रत्नबहादुर खड्का ले प्रतियोगिताको उद्देश्य स्पष्ट पार्दै भने, “स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्ने र खेलकुदमा नयाँ दृष्टिकोण ल्याउने हाम्रो लक्ष्य हो।” प्रतियोगितामा नगरका १५ विद्यालयका छात्र-छात्राहरू सहभागी छन् भने १४ विधामा तीन दिनसम्म प्रतिस्पर्धा हुनेछ। छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापा ले खेल संरचनाको विकासले युवाहरूलाई सकारात्मक दिशामा डोहोऱ्याउने विश्वास व्यक्त गरे। उनले भने, “यदि पालिकाहरूले आवश्यक पूर्वाधार निर्माण गरे, खेलकुदले युवाहरूलाई विभिन्न लतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”
मन्त्री शाहले “विकास र सेवामा राजनीति घुसाउनु हुँदैन” भन्ने धारणा राख्दै, खेलकुद जस्ता क्षेत्रहरूलाई गैर-पक्षीय रूपमा अघि बढाउनु पर्ने बताए।
प्रतिक्रिया दिनुहोस्