जाजरकोट — यार्सागुम्बा खरिदबिक्रीको नाममा ठगी गरेको आरोपमा जाजरकोट नलगाड नगरपालिका–७, दल्ली घर भई हाल काठमाडौं ठमेल बस्ने ४१ वर्षीय दिपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको समन्वयमा उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा सिंहले यार्सागुम्बा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको पाइएपछि थप अनुसन्धानका क्रममा उनका नाममा तीनवटा छुट्टाछुट्टै ठगीसम्बन्धी मुद्दा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय कोहलपुरमा नेपाली सेनामा भर्ती गराइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा पनि उनीमाथि मुद्दा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सिंहलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।