
काठमाडौं , सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तयार भइसकेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकमा आशनग्रहण गर्न आग्रह गरिसक्नुभएको छ।
यसअघि सत्ता गठबन्धनका दलहरूबीच अर्थतन्त्रलाई गति दिने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ।
आगामी नीति तथा कार्यक्रम युवामाझ आशा जगाउने, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप र व्यावसायिक योजना विस्तार, सरकारको पूँजीगत खर्च वृद्धि र सुशासन स्थापनामा केन्द्रित हुने विश्वास लिइएको छ।
सचिवालयले नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यतालिका बनाइसकेको छ।
त्यसपछि वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफल प्रारम्भ हुनेछ, जसलाई प्रि(बजेट छलफलको रूपमा लिइएको छ।
नेपालको संविधानअनुसार सरकारको आगामी वर्षको बजेट जेठ १५ गते अर्थमन्त्रीद्वारा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ।
प्रतिक्रिया दिनुहोस्