सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–६ मा शनिबार एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्वास्थ्य जनचेतना शिविर सम्पन्न भएको छ। वीरेन्द्रनगर ६ को आर्थिक सहयोग र सुन्दर कर्णाली संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

शिविरको उद्घाटन संस्थाकी अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा तथा प्रदेश अस्पताल सुर्खेतका निवर्तमान प्राध्यापक डा, डम्बर खड्काको प्रमुख आतिथ्यमा गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष जनक रावल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य परीक्षणमा प्रदेश अस्पताल सुर्खेतका स्त्री रोग विशेषज्ञ डा, ललितजंग शाही, डा, रोजी यादव, डा, सुवर्ण भण्डारीलगायतको विशेषज्ञ टोली खटिएको थियो। शिविरमा ५७ जना महिलाहले सेवा लिएका थिए, जसमा ४९ जनाले क्यान्सर परीक्षण गराए। तीमध्ये ७ जनामा जटिल लक्षण देखिएकाले थप उपचारका लागि सुर्खेत रेफर गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा नर्सिङ प्रमुख शकुन्तला सापकोटाले महिलालाई प्रजनन अङ्गको सरसफाइबारे सचेतनामूलक जानकारी दिइन्। त्यस्तै, कल्पना थापा, प्रभा रावल, सीता शर्मा, विष्णु गुरुङ, जानकी शाही लगायतको स्वास्थ्य टोली सक्रिय रूपमा खटिएको थियो।

शिविर सञ्चालनका लागि यज्ञ पिस होम्स एकेडेमीले भवन उपलब्ध गराएकोमा आयोजक संस्थाले सल्लाहकार उपेन्द्र खड्काप्रति विशेष आभार प्रकट गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रदेश अस्पतालको टोली, वडा कार्यालय, टोल विकास संस्था, स्वयंसेवक तथा सहभागीहरूलाई सुन्दर कर्णाली परिवारले धन्यवाद ज्ञापन गरेको छ।

संस्थाले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्यमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।