शौचालय प्रयोग गर्न डर लाग्छ – स्ववियू मौन
“खानेपानी छैन, शौचालय प्रयोग गर्न डर लाग्छ। यसरी कसरी पढ्न सकिन्छ”

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरू हाल शौचालय, खानेपानीजस्ता अत्यावश्यक सुविधाको अभावमा परेका छन्। दैनिक अध्ययनरत सयौं विद्यार्थीहरू शिक्षाको वातावरणभन्दा पहिले स्वच्छता र सुरक्षाको अभावसँग जुधिरहेका छन्।
एक जना महिला विद्यार्थीको भनाइ अनुसार महिलाहरूका लागि बनाइएको शौचालयमा न त चुकुल छ, न त कब्जा। “नाम मात्रै टेक्नोलोजी छ, काम केही छैन। हामी महिलाहरूले शौचालय जानुअघि अर्का साथीलाई कुरुवा राख्नुपर्छ, अन्यथा असुरक्षित महसुस हुन्छ,” उनले गुनासो पोखिन्।खानेपानीको अवस्था पनि उस्तै छ। विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नभएपछि विद्यार्थीहरू टाढाटाढाबाट पानी बोकेर ल्याउने वा घण्टौंसम्म प्यासै बस्न बाध्य छन्।
“खानेपानी छैन, शौचालय प्रयोग गर्न डर लाग्छ। यसरी कसरी पढ्न सकिन्छ” अर्का एक विद्यार्थीको प्रश्न छ।
विद्यार्थीहरूले विश्वविद्यालय प्रशासन र विद्यार्थी संघ स्ववियु दुवैलाई बारम्बार जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। “स्ववियू सभापति चुनावमा ठूलाठूला सपना देखाएर जिते, अहिले त फोन उठाउने फुर्सद पनि छैन,” एक विद्यार्थीले भने। साथै स्ववियू सभापतिलाई बारम्बार जानकारी गराउँदा पनि विद्यार्थीसँग सरोकार नराखेको गुनासो उठेको छ। पदमा बसेर जिम्मेवारी वहन गर्नुको सट्टा विद्यार्थीका समस्या सुन्नेतर्फ बेवास्ता गरिएको विद्यार्थीहरूको आरोप छ। चुनावताका गरेका प्रतिबद्धता बिर्सेर हाल आफू पदमा सीमित रहन खोजिएको स्पष्ट देखिन्छ।
प्रशासनतर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। पत्रकारहरूले सम्पर्क गर्दा विश्वविद्यालयका जिम्मेवार निकाय मौन देखिएका छन्।
‘टेक्नोलोजी पढाउने स्कुलमा प्रविधि होइन, प्राथमिक सुविधा खोज्दै विद्यार्थी’ शिक्षण संस्था भनिने स्थानमै यस्ता समस्या हुनु सरकारको शिक्षा क्षेत्रप्रतिको उदासीनता र विश्वविद्यालय व्यवस्थापनको असक्षमताको द्योतक हो। विद्यार्थीहरू अहिले शिक्षाभन्दा पहिले सुरक्षित शौचालय र स्वच्छ पानीको माग गरिरहेका छन्, जुन संविधानले नै प्रत्याभूत गरेको अधिकार हो। यदि विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनले समयमै ध्यान नदिए यसले आगामी दिनमा थप विद्यार्थी आन्दोलन वा असन्तोष निम्त्याउने देखिन्छ।



प्रतिक्रिया दिनुहोस्