त्रिपुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ स्थापना दिवस विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा ज्येष्ठ नागरिक नन्दकली गुरुङको गरिमामय उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष तथा सभाध्यक्ष राजेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति पदाधिकारीहरू, पूर्व सञ्चालक समिति पदाधिकारीहरू, संस्थापक सदस्यहरू तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको स्थापना कालदेखि हालसम्मको संघर्ष, उपलब्धि र समुदायमा पुर्याएको योगदानबारे विस्तृत चर्चा गरिएको थियो।कार्यक्रममा पूर्व सञ्चालक समिति सचिव डिल बहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाको दिगो विकासका लागि सबै सदस्यहरूको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो।

उहाँले संस्थालाई अझ मजबुत र सदस्य–मैत्री बनाउँदै लैजान आग्रह गर्नुभयो।प्रमुख अतिथि नन्दकली गुरुङले संस्थाको निरन्तर प्रगति र सफलताको कामना व्यक्त गर्दै सहकारीमार्फत समुदायको आर्थिक सशक्तीकरणमा थप योगदान दिनुपर्ने धारणा राख्नुभयो।त्यसैगरी, पूर्व संस्थापक सदस्य अमृता पौडेलले संस्थाको स्थापनाकालीन संघर्ष स्मरण गर्दै ढुङ्गाको बान्नामा बसेर, खलामा गुन्द्री बिछ्याएर १३ जना सदस्यबाट लामो संघर्षका साथ संस्था स्थापना गरिएको उल्लेख गर्नुभयो।
उहाँले त्यतिबेलाको समर्पण, एकता र त्यागकै कारण आज संस्था यस उचाइमा पुगेको बताउनुभयो।कार्यक्रमका अवसरमा संस्थाको विभिन्न शीर्षकअन्तर्गत उत्कृष्ट कार्य गर्न सफल सेयर सदस्यहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो।कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्य बिनोद बस्नेतले गर्नुभएको थियो भने समापन सभाध्यक्ष राजेन्द्र देव गिरीले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो।उक्त अवसरमा सहभागीहरूले संस्थाको दीर्घायु, निरन्तर प्रगति तथा सदस्यहरूको आर्थिक समृद्धिको कामना व्यक्त गरेका थिए।




प्रतिक्रिया दिनुहोस्