स्थानीय तहको विपद् पूर्वतयारीलाई सुदृढ बनाउँदै आपतकालीन तथा जलवायुजन्य विपद्का समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जाजरकोटको बारेकोट गाउँपालिकालाई २३ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै आगामी दिनमा १ लाख ४० हजार रुपैयाँ बराबरका गोदाम प्यालेटसमेत उपलब्ध गराइने जनाइएको छ।

युरोपेली संघ (European Union) को आर्थिक सहयोग तथा पिपुल इन नीड (People in Need), सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC), सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा सञ्चालित ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका सामग्रीमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर-खाद्य राहत सामग्री (NFI) सेट, १४० थान मर्यादा किट (Dignity Kit) तथा २० थान गोदाम प्यालेट रहेका छन्। प्यालेटहरू आगामी हप्ताहरूमा क्रमशः हस्तान्तरण गरिने परियोजनाले जनाएको छ।

भूकम्प, बाढी, पहिरो, आगलागीलगायतका विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्री गाउँपालिकाको आपतकालीन गोदाममा पूर्व-भण्डारण गरिनेछ। जाजरकोटको बारेकोट गाउँपालिका बाढी, पहिरो तथा भूकम्पको उच्च जोखिममा रहेकाले स्थानीय स्तरमै राहत सामग्री उपलब्ध हुँदा विपद्पछिको कठिन समयमा प्रभावित परिवारले समयमै सहायता प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

यो सहयोग ‘क्राइसिस मोडिफायर (Crisis Modifier)’ पहलअन्तर्गत गरिएको हो। उक्त पहलले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सहयोग गरिरहेको छ। यसअन्तर्गत करिब २ करोड ४८ लाख रुपैयाँ बराबरका राहत सामग्री जाजरकोटका बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका, रसुवाका नौकुण्ड र उत्तरगया गाउँपालिका, प्युठानका सरुमारानी र माण्डवी गाउँपालिका तथा बझाङका केदारस्यूँ र थलारा गाउँपालिकामा पूर्व-भण्डारण गरिँदैछ।

गैर-खाद्य राहत सामग्री सेटमा आपतकालीन अवस्थामा आवश्यक घरायसी सामग्रीहरू समावेश छन् भने मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरूको व्यक्तिगत सरसफाइ, सुरक्षा र सम्मान कायम राख्न सहयोग पुर्‍याउनेछ। त्यस्तै, गोदाम प्यालेटले राहत सामग्रीलाई ओस तथा अन्य जोखिमबाट जोगाउँदै सुरक्षित भण्डारण गर्न मद्दत गर्नेछ।

राहत सामग्रीको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न परियोजनाले सहभागी स्थानीय तहका प्रतिनिधिहरूलाई गोदाम व्यवस्थापनसम्बन्धी तालिमसमेत प्रदान गरेको छ। तालिममा अभिलेख व्यवस्थापन, भण्डारण मापदण्ड, मर्मतसम्भार तथा सामग्री परिचालन प्रक्रियामा विशेष जोड दिइएको थियो।

राहत सामग्री काठमाडौंबाट बारेकोट गाउँपालिकाको आपतकालीन गोदामसम्म सुरक्षित रूपमा ढुवानी गर्न परियोजनाले आवश्यक सहयोगसमेत उपलब्ध गराएको थियो। हस्तान्तरण कार्यक्रममा पिपुल इन नीडका प्रतिनिधि, गाउँपालिका पदाधिकारी, स्थानीय सरकारी अधिकारी तथा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।