साना किसान कृषि सहकारीद्वारा शिशु स्याहार केन्द्र सञ्चालन
सहकारीको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने प्रयास
सुर्खेत । राष्ट्रिय सहकारी महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त साझेदारीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–२, सुर्खेतमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ।
२०८३ साल भदौ १० गते आयोजित उद्घाटन समारोह संस्थाका अध्यक्ष श्रीमती विन्द्रा थापाको अध्यक्षतामा सम्पन्न भएको हो। समारोहमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष श्री रमेश प्रसाद पोखरेल प्रमुख अतिथि तथा सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार श्री खिमानन्द अर्याल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष श्रीमती सरिता चौधरी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रतिनिधि श्रीमती सिर्जना ढकाल, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतका शाखा प्रबन्धक श्री सबिन लामिछाने, वीरेन्द्रनगर नगरपालिकाका अधिकृत श्री सन्तोष गौतम, राष्ट्रिय सहकारी महासंघका कार्यक्रम संयोजक श्री अमित अधिकारी लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब ६५ जनाको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले शिशु स्याहार केन्द्र सञ्चालनको पहल सहकारीका लागि कुनै फरक वा अलग प्रकृतिको गतिविधि नभएको बताउनुभयो। उहाँले यसलाई सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ अन्तर्गत पर्ने सामाजिक उत्तरदायित्वसँग जोड्दै सहकारी संस्थाले आफ्ना सदस्यहरूको आर्थिक आवश्यकतासँगै सामाजिक तथा पारिवारिक आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले शिशु स्याहार केन्द्रले विशेषगरी कामकाजी अभिभावकलाई आफ्ना बालबालिकाको सुरक्षित तथा उचित स्याहारको व्यवस्था गर्दै रोजगारी तथा आर्थिक गतिविधिमा सक्रिय हुन सहज वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि शिशु स्याहार केन्द्रको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गर्दै बालबालिकाको सुरक्षित स्याहार, प्रारम्भिक विकास तथा अभिभावकको कार्यजीवनमा केन्द्रले महत्वपूर्ण सहयोग पुर्याउने धारणा राख्नुभएको थियो।
शिशु स्याहार केन्द्रको उद्घाटन समारोहलाई औपचारिक तथा सांस्कृतिक रूपमा समेत विशेष बनाइएको थियो। रिबन काटेर केन्द्रको उद्घाटन गर्नुका साथै सरस्वती वन्दना तथा भजन प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न भजन मण्डलीहरूको समेत सहभागिता रहेको थियो।
साना किसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको यस शिशु स्याहार केन्द्रले सहकारीका सदस्य तथा स्थानीय समुदायका अभिभावकलाई आफ्ना साना बालबालिकाको सुरक्षित, व्यवस्थित र हेरचाहयुक्त वातावरणमा स्याहार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सहकारीले आर्थिक तथा वित्तीय सेवासँगै समुदायको सामाजिक आवश्यकता र सदस्यहरूको पारिवारिक जीवनमा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सन्देशसमेत उद्घाटन कार्यक्रमले दिएको छ।
उद्घाटन समारोहको समापन भजन–कीर्तनसहित गरिएको थियो।












प्रतिक्रिया दिनुहोस्