कर्णालीमै बसेर लेखे राष्ट्रिय सफलताको कथा, प्रेमकुमार बीसी बने नेपाल प्रथम
कर्णालीमा बसेर बीमा व्यवसायमा सक्रिय बीसीले एक वर्षको अवधिमा ५ करोड ८ लाख रुपैयाँ बराबरको प्रिमियम व्यवसाय गर्दै राष्ट्रियस्तरमा पहिलो स्थान हासिल गरेका हुन्।
सुर्खेत। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को सञ्जाल व्यवसायतर्फ कर्णाली प्रदेशबाट प्रेमकुमार बीसी नेपाल प्रथम भएका छन्। कर्णालीमा बसेर बीमा व्यवसायमा सक्रिय बीसीले एक वर्षको अवधिमा ५ करोड ८ लाख रुपैयाँ बराबरको प्रिमियम व्यवसाय गर्दै राष्ट्रियस्तरमा पहिलो स्थान हासिल गरेका हुन्। भैरहवामा आयोजित कम्पनीको कार्यक्रममा बीसीलाई सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम घोषणा गरिएको हो। सो अवसरमा उनलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले सम्मानपत्रसहित पुरस्कृत गरेका थिए।
कर्णालीबाट सुरु भएको उनको व्यावसायिक यात्राले राष्ट्रियस्तरमा प्राप्त गरेको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन। भौगोलिक रूपमा चुनौतीपूर्ण मानिने कर्णालीमा बसेर पनि राष्ट्रियस्तरमा उत्कृष्ट व्यावसायिक परिणाम हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा यस उपलब्धिलाई लिन सकिन्छ।
कर्मचारीबाट अभिकर्तासम्मको यात्रा
बीसीले २०६८ सालमा नेशनल लाइफ इन्स्योरेन्समा कर्मचारीका रूपमा आफ्नो बीमा क्षेत्रको यात्रा सुरु गरेका थिए। उनले कम्पनीका सुर्खेत र दैलेख शाखामा काम गरे। दैलेख शाखामा कार्यरत रहँदा उनको काठमाडौं सरुवा भयो। तर काठमाडौं गएर काम गर्नुभन्दा कर्णालीमै बसेर बीमा क्षेत्रलाई अघि बढाउने उनको चाहना बलियो थियो। यही सोचका साथ उनले कर्मचारीको जिम्मेवारी छाडेर अभिकर्ताका रूपमा काम गर्ने निर्णय लिए।
कर्णालीमै बसेर देश तथा विदेशमा रहेका व्यक्तिहरूसम्म बीमाको महत्व र आवश्यकताबारे जानकारी पुर्याउने उद्देश्यसहित उनले अभिकर्ताको यात्रा अघि बढाए। कर्मचारीका रूपमा बीमा व्यवसायलाई नजिकबाट बुझ्ने अवसर पाएका बीसीले अभिकर्ताको भूमिकामा प्रवेश गरेपछि देशका विभिन्न क्षेत्रमा पुगेर बीमा व्यवसाय विस्तारमा सक्रिय भूमिका निर्वाह गरे। विभिन्न संस्थामा काम गर्दा प्राप्त अनुभव, बजारको अध्ययन तथा ग्राहकको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्दै उनी पुनः नेशनल लाइफ इन्स्योरेन्ससँग अभिकर्ताका रूपमा जोडिए। नेशनल लाइफका बीमा योजना, बोनस दर तथा दीर्घकालीन लाभलाई मूल्याङ्कन गरेर आफूले पुनः यही संस्थालाई रोजेको बीसी बताउँछन्।
एमडीआरटीदेखि सीओटीसम्मको निरन्तर सफलता
बीमा क्षेत्रमा निरन्तर सक्रिय बीसीले सन् २०२० देखि लगातार MDRT पूरा गर्दै आएका छन्। उनले सन् २०२२ र २०२६ मा COT समेत पूरा गरेका छन्। उनको व्यावसायिक यात्रामा यसअघि पनि महत्वपूर्ण उपलब्धिहरू रहँदै आएका छन्। २०७८ र २०७९ मा उनी सञ्जाल व्यवसायतर्फ नेपाल तृतीय भएका थिए।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक शतक पूरा गर्ने अभिकर्ताका रूपमा समेत उनले आफ्नो पहिचान बनाएका छन्। यही निरन्तर उपलब्धिको यात्रामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्जाल व्यवसायमा नेपाल प्रथम हुँदै उनले अर्को महत्वपूर्ण सफलता थपेका हुन्।
‘यो एक व्यक्तिको मात्र उपलब्धि होइन’
नेपाल प्रथम भएपछि बीसीले यो उपलब्धिलाई आफू एक्लैको सफलताका रूपमा नहेरेको बताएका छन्। आफ्नो यात्रामा निरन्तर विश्वास र साथ दिने Team Prem, अभिकर्ता साथीहरू, सम्पूर्ण बीमित, नेशनल लाइफ इन्स्योरेन्सका कर्मचारी परिवार, Management Team तथा शुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरेका छन्। उनका अनुसार यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभई विश्वास, सहकार्य, निरन्तरता र सामूहिक प्रयासले निर्माण गरेको परिणाम हो।
कर्णालीबाट सुरु भएको यात्राले राष्ट्रियस्तरमा प्राप्त गरेको यो उपलब्धिले बीमा व्यवसायमा कर्णालीको सम्भावनालाई समेत थप उजागर गरेको छ।
कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म
कर्णालीमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ग्राहकसँग जोडिँदै बीमा व्यवसायमा निरन्तर सक्रिय बीसीको यात्रा मेहनत, निरन्तरता र पेशाप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ। भौगोलिक दूरी र चुनौतीलाई सीमाका रूपमा नहेरी प्रविधि, सम्बन्ध, सेवा र निरन्तर प्रयासमार्फत बजार विस्तार गर्न सकिने उनको यात्राले देखाएको छ।
कर्णालीबाट सुरु भएको यात्रा, नेपाल प्रथमको गौरवसम्म, प्रेमकुमार बीसीको यो उपलब्धिले व्यक्तिगत सफलतासँगै कर्णालीबाट राष्ट्रियस्तरमा व्यवसायिक पहिचान बनाउन सकिने सम्भावनालाई समेत उजागर गरेको छ।















प्रतिक्रिया दिनुहोस्