दसैँ नजिकिँदै गर्दा सुरु भयो बिमाको चर्चा: बिमा व्यवसायप्रति बढ्दो आकर्षण
यसरी हेर्दा, पछिल्लो समय नेपालमा बढ्दै गएका विभिन्न जोखिम, आर्थिक सचेतना र भविष्यका लागि योजनाबद्ध बचत गर्ने प्रवृत्तिले जीवन बिमा व्यवसायप्रति नागरिकको आकर्षणलाई थप बलियो बनाउँदै लगेको देखिन्छ।
प्रेम कुमार बी.सी, सुर्खेत। नेपालीहरूको महान् चाड बडादसैँ तथा तिहार नजिकिँदै गर्दा चाडपर्वको रौनकसँगै जीवन बिमाप्रति आम नागरिकको चासोसमेत बढ्दै गएको छ। पछिल्लो समय बिमा व्यवसायलाई केवल जोखिम हस्तान्तरणको माध्यमका रूपमा मात्र नभई बचत, आर्थिक सुरक्षा र भविष्यको योजनासँग जोडेर हेर्ने प्रवृत्ति बढेको बिमा क्षेत्रका जानकारहरू बताउँछन्।
विशेषगरी दसैँ-तिहारको समयमा हुने अनावश्यक तथा क्षणिक खर्चलाई केही हदसम्म योजनाबद्ध बचतमा रूपान्तरण गर्दै बालबालिका तथा परिवारको भविष्य सुरक्षित गर्ने सोच बढिरहेको छ। नियमित रूपमा सानो-सानो रकम बचत गर्दै भविष्यमा बालबालिकाको उच्च शिक्षा, विवाह तथा अन्य महत्वपूर्ण आवश्यकतामा उपयोग गर्न सकिने भएकाले पनि जीवन बिमाप्रति आकर्षण बढेको बताइन्छ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख दीप नारायण खनालका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष बिमा गर्ने नागरिकको चासो र संख्या दुवै बढेको छ। बिमाले एकातर्फ नियमित बचतको अवसर प्रदान गर्नुका साथै अर्कोतर्फ जीवनमा आइपर्न सक्ने जोखिमविरुद्ध आर्थिक सुरक्षा दिने भएकाले यसको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
“पछिल्ला वर्षहरूमा देखिएका विभिन्न सवारी दुर्घटना, बाढी–पहिरो तथा अन्य प्राकृतिक विपत्तिले जोखिमको वास्तविकता अझ नजिकबाट बुझाएको छ। भूकम्प, कोरोना महामारीदेखि पछिल्ला बाढी-पहिरोसम्मका घटनाले पनि नागरिकमा बिमा आवश्यकताबारे चेतना बढाएको देखिन्छ,” खनालले बताए।
उनका अनुसार दसैँ तिहारजस्ता चाडपर्व परिवारसँग बसेर भविष्यका आर्थिक योजनाबारे सोच्ने समय पनि भएकाले जीवन बिमा सुरु गर्नका लागि यो समयलाई सकारात्मक अवसरका रूपमा लिन सकिन्छ।
यता नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सुर्खेत शाखाका प्रमुख बलबहादुर सिजापतिका अनुसार पछिल्लो समय बिमा गर्ने क्रममा पनि परिवर्तन देखिएको छ। पहिले परिवारका ठूला सदस्यको बिमामा बढी जोड दिने प्रवृत्ति रहे पनि अहिले अभिभावकहरू आफ्ना बालबालिकाको भविष्य सुरक्षित गर्न बिमा गराउनेतर्फ बढी आकर्षित हुन थालेका छन्।
“अहिले अभिभावकहरू बालबालिकाको भविष्यलाई लिएर बढी सचेत देखिनुभएको छ। सानै उमेरदेखि नियमित बचत गर्ने र भविष्यमा उच्च शिक्षालगायतका महत्वपूर्ण आवश्यकतामा रकम उपयोग गर्ने उद्देश्यले बालबालिकाको बिमा गराउने क्रम बढेको छ,” सिजापतिले बताए।
बिमा क्षेत्रका जानकारहरूका अनुसार चाडपर्वमा हुने खर्चलाई पूर्ण रूपमा रोक्नेभन्दा पनि त्यसको केही हिस्सा भविष्यका लागि बचत र सुरक्षामा रूपान्तरण गर्ने संस्कार विकास गर्नु आवश्यक छ। यसले परिवारलाई तत्कालीन खुसीसँगै दीर्घकालीन आर्थिक सुरक्षातर्फ समेत अघि बढाउन सहयोग पुर्याउन सक्छ।
दसैँ–तिहारको अवसरमा नयाँ कपडा, मनोरञ्जन र अन्य उपभोग्य वस्तुमा खर्च गर्ने परम्परासँगै बालबालिकाको भविष्य, परिवारको आर्थिक सुरक्षा र जोखिम व्यवस्थापनका लागि जीवन बिमालाई पनि पारिवारिक योजनाको एउटा महत्वपूर्ण हिस्सा बनाउने क्रम बढ्दै गएको देखिन्छ।
यसरी हेर्दा, पछिल्लो समय नेपालमा बढ्दै गएका विभिन्न जोखिम, आर्थिक सचेतना र भविष्यका लागि योजनाबद्ध बचत गर्ने प्रवृत्तिले जीवन बिमा व्यवसायप्रति नागरिकको आकर्षणलाई थप बलियो बनाउँदै लगेको देखिन्छ।











प्रतिक्रिया दिनुहोस्