२८ भदौ, काठमाडौं । शनिबार साँझ काठमाडौंको सडकमा नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखियो ।यो देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरु दंग परे ।

तर यो विमान कुनै आपतकालीन रुपमा सडकमा अवतरण भने गरिएको होइन रहेछ । यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती पनि भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकप्टर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

उनका अनुसार यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ । आवश्यक तयारीपछि सर्वसाधारणले पनि यसको अवलोकन गर्न पाउनेछन्।