३० भदौ,दैलेख ।
दैलेख क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य सांसद सुशील थापामाथि साङ्घातिक आक्रमण भएको छ।

आफ्नो निर्वाचन क्षेत्र अन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीमाथि आक्रमण भएको हो।

नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करीब दुई सय जना नेपाली काँग्रेसका कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो।

‘आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितिका लागि खबर भयो, नेकपाका पालिकास्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुखलगायतको उपस्थिति थियो, बिहानको कार्यक्रम स्थानीयवासीको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिएँ, छ जनाको समूहले एकाएक आक्रमण सुरू गर्‍यो, अत्यधिकरुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्यक्ष, नेकपाका पार्टी सचिवलगायतका नेतामाथि धमाधम आक्रमण गर्‍यो, सबैलाई हुत्याउँदै मलाईसमेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए, त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास भएको सांसद सुशील थापाले जानकारी दिए ।