काठमाडौं, ६ असोज । नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ ।

नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएका केसीलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स पुगेको थियो । तर, प्रहरीले डा.केसीलाई टिचिङ अस्पताल नलगी ट्रमा सेन्टर पुर्‍याएको हो ।

केसीका सहयोगीले प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तीव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले २९ भदौदेखि जुम्लामा अनशन सुरु गरेका थिए ।

तर, जुम्लामा अनशनका क्रममा धरपकड र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी काठमाडौंतर्फ आएका थिए । उनी सोमबार नेपालगन्जमा थिए । सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको थियो ।