सुर्खेत, १० असोज । कर्णाली करिडोर अन्र्तगत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा बन्न लागेको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापरवाही र सडक डिभिजन कार्यालय अनुगमन नहुदाँ अलपत्र परेको हो ।
कर्णाली करिडोर अन्र्तगतको खुलालुमा बन्न लागेको पक्की पुल २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने गरि झन्डै १४ करोडमा कन्काई नेपाल प्रगति जेभीले ठेक्का पाएको थियो ।
ठेक्का पाएको ६ बर्ष पुरा भईसक्दा पनि कुनै पनि काम नभएको कालिकोट लालुका स्थानीय शिक्षक नबराज शाहीले बताए । ‘६ बर्ष अघि नै ठेक्का परेको छ । काम हुदैँछ, भन्ने सुनेका थियौं ।’ उनले भने,–‘अहिलेसम्म पनि कुनै काम भएको देखिदैन् ।’
बि.स. २०६७ सालमा सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको हाल जुम्ला सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको सो पुल सरकारी निकाय तालमेल नमिलेका कारणले पुलमा ढिला भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष तथा पुर्व सभासद् नवराज कोइरालाले बताए । ‘सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको योजना पछि जुम्ला सडक डिभिजनले काम लियो ।’ उनले भने,–‘सरकारी कार्यालयको तालमेल नमिल्दा पुलको योजना अलपत्र परेको छ ।’
पुल निर्माणको जिम्मा लिएको कन्काई नेपाल प्रगति जेभीले पुल ठेक्का लिएको लामो समयसम्म पनि काम गरेको छैन् । पुल निर्माणको जिम्मा लिएका ठेकेदारले काम नगरेपछि पटक पटक ताकेता गरिएको कर्णाली सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
पुल निर्माण कार्य अगाडी बढ्न नसक्दा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिब १ किलोमिटर चट्टाने भीर नेपाली सेनाले फोड्ने सुरसार पनि गरेको छैन् । पुल नबनेसम्म सेनाले भीर फोड्ने जागर नदेखाएको पुल बन्दासाथ काम गर्ने तयारी गरेको सेनाको कर्णाली करिडोेर निर्माण कार्यदलको भनाईंलाई उद्दृत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए । ‘पुल बनेपछि मात्र सेनाले भीर फाड्ने पक्षमा छ ।’ उनले भने,–‘पुल नबनी त्यो भीर सेनाले फोड्ने कुरा ग्राहो नै छ ।’
पुल निर्माणका लागि लामो समयदेखि बिभिन्न कार्यालयमा धाएपनि कसैले चासो नदेखाएको राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेता मिनबहादुर शाहीले बताए । ‘पुल निर्माणका लागि धेरै पहल ग¥र्यौ ।’ उनले भने,–‘त्यसमा कसैले पनि चासो दिएन् ।’
कर्णाली करिडोर अन्र्तगतको पुल ०६७ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, ०७१ सालमा भौतिक पुर्वाधार मन्त्री हुदाँ बिमलेन्द्र नीधिले दुई पटक शिलान्यास समेत भइसकेको छ ।
कर्णालीमा न्यूनतम एक करोड १७ लाख रुपैयाँदेखि झन्डै १४ करोडसम्मका पुल बन्दैछन् । कर्णाली राजमार्गका ४१ करोड ३६ लाख रुपैयाँभन्दा बढी लगानीमा पुल निर्माण बन्दैछन् । पुलको निर्माण कार्य शुरु भएका धेरै पुलहरु ठेकेदारको लापरवाहीका कारणले बन्न सकेका छैन्न् ।