सुर्खेत । गएको आर्थिक वर्ष २०७६/मा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मात्रै कर्णालीका झण्डै आधा जनसंख्यालाई रोजगारी दिएको दाबी गरेको प्रतिवेदन केही दिनअघि सार्वजानिक भएको छ । यसबारे सामाजिक संजालमासमेत विभिन्न टिकाटिप्पणी हुन पनि सुरु भएको छ । पछिल्लो जनगणनाअनुसार कर्णालीको जनसंख्या करिब १५ लाखको हाराहारीमा रहेको छ । तर मन्त्रालयले सार्वजानिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा गत आर्थिक वर्षमा मात्रै झण्डै सातलाख अर्थात ६ लाख ९८ हजार आठसय ६५ जनालाइ प्रत्यक्ष रुपमा रोजगारी दिएको उल्लेख गरिएको छ । कतिपयले यष विषयलाई हावादारीको रुपमा प्रतिवेदन निकालेको भन्दै सामाजिक संजालमा लेख्न थालेका छन् । हामिले यस विषयमा वास्तविकता बुझ्ने प्रयास गरेका छौं ।

के हो वास्तविकता ?

मन्त्रालयका सुचना अधिकारी सेरबहादुर रोकायाले मन्त्रालयले एक वर्षमा त्यत्रो नजसंख्यालाई रोजगारी दिन नसक्ने बताउँदै त्यो संख्या रोजगारी पामउनेको संख्या नभई दिन भएको बताए । ‘हामीले त्यति ठुलो जनसंख्यालाई रोजगारी दिन सम्भव छैन । एक जनाले १ दिन काम गर्यो भने १ दिन गनेका हौं । सोही मानिसले अर्को दिन काम गर्यो भने २ दिन गनिन्छ ।’ उनले भने, ‘मन्त्रालयले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा ६ लाख ९८ हजार आठसय ६५ दिन रोजगारी सिर्जना भएको मानेका हौं । जस्तै २ दिनमा ५ जनाले काम गरे भने १० दिन काम भएको मानेका हौं ।’

कति दिन सिर्जना भयो रोजगारी ?

वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा झण्डै सातलाख अर्थात ६ लाख ९८ हजार आठसय ६५ दिन रोजगारी दिएको सुचना अधिकारी रोकायाले बताए । जसअनुसार ५२ वटा सडक निर्माणमा एकलाख ६० हजार नौसय ५९ दिन, तटबन्ध निर्माणमा एकलाख २२ हजार पाँचसय ६४ दिन, वन तथा वातावरण संरक्षण कार्यक्रम अन्तरगत नमूना फलफूल तथा जडिबुटी कार्यक्रममा चार हजार तीनसय ४५ दिन, बहुबर्षिय नर्सरी स्थापना तथा सञ्चालनका लागि भएका एउटा कार्यक्रममा मात्रै तीन हजार दुईसय ८० दिन रोजगारी सिर्जना भएको उनले बताए ।
त्यस्तै सरसफाइतर्फ संरचना निर्माणका लागि १९ हजार नौसय ९९ दिन, उच्च प्रविधिको नर्सरी कार्यक्रममा ३१ हजार पाँचसय तीन दिन, हेलिप्याड निर्माणमा नौ हजार नौसय २८ जना, १४ वटा तथा तथा मुहान संरक्षण कार्यक्रममा ४१ हजार तीन सय ५० दिन, गुम्बा तथा मन्दिरस्थल निर्माण कार्यक्रममा ६८ हजार पाँच सय दुइ दिन रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।

होमस्टे कार्यक्रममा दुई हजार सात सय ७७ दिन, पर्यटकीय पदमार्ग निर्माणमा ४७ हजार पाँचसय ४५ दिन, ऐतिहासिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्यक्रममा एकलाख नौ हजार दुईसय ५८ दिन, स्मृतिपार्क तथा भवन निर्माणमा ४२ हजार तीनसय ४९ दिन, उद्योगको पूर्वाधार निर्माणका कार्यक्रममा तीन हजार दुईसय ४० दिन, पार्क निर्माणमा २३ हजार तीनसय २० दिन, जडिबुटी प्रशोधन तथा भण्डार निर्माणमा एक सय २६ दिन र फर्निसिङ्ग तथा फिक्चर्स मर्मतसम्भार कार्यक्रममा तीन हजार पाँचसय ४९ दिन नागरिकले रोजगारी पाएको मन्त्रालयले जनाएको छ । (सिलतपाटी)