सुर्खेत। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएस पढाइका लागि सरकारले प्रथामिकता दिने जानकारी दिए ।
स्वास्थ्यक्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला पुगेका राज्यमन्त्री रावतले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको एमबीबीएसको अध्ययनका लागि सरकार र मन्त्रालय सकारात्मक भएको बताए । प्रतिष्ठानमा भएका स्वास्थ्य सेवाहरुको अनुगमन र आयोजना गरिएको अन्तरक्रियामा राज्यमन्त्री रावतले एमबीबीएस तथा पूर्वाधारका लागि आन्तरिक गृहकार्य गर्न तथा मन्त्रालय सँग समन्वय गर्न निर्देशन दिए । मन्त्री रावतले कर्णाली सहित देशका ६ प्रतिष्ठान पाँच सय शैया, प्रदेश अस्पताल ३ सय शैयाको बजेटसहित पूर्वाधार शुरु भएको जानकारी दिए । तीन सय ९६ स्थानीय तहमा ५, १० र १५ शैयाको अस्पताल जनशक्ति सहितको तयार गरिएकोले स्वास्थ्यमा सरकारले केही गरेको बताए ।
पूर्वराज्यमन्त्री बलबहादुर महतले कर्णालीमा केही सम्भव छैन भनेर दृष्टि फरक राखिएको समयमै नेपालमा कर्णाली प्रतिष्ठानको जन्म भएको भन्दै कर्णाली प्रतिष्ठानको पूर्वाधार र एमबीबीएसको लागि सहयोग गर्न अनुरोध गरे ।
प्रतिष्ठानले एमबीबीएसका लागि तयारी भइरहेको हुँदा सहयोग गर्न अनुरोध गरेको थियो । कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले रु ६ अर्वको बहुबर्षिय योजना प्रधानमन्त्री उपस्थित सिनेटले पारित गरि सकेकाले कार्यान्वयन गर्न अनुरोध गरे । उनले प्रतिष्ठानले स्वास्थ्यसेवा गाउँमै दिने मौलिक स्वास्थ्यसेवा मोडल शुरु गरेको जानकारी दिए ।
यसैगरी मन्त्री रावतले यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरेका थिए । अस्पतालको शिलान्यस गर्दै उनले कर्णालीमा ४२ स्थानीय तहमा अहिले ५ देखी १५ शैयाका अस्पताल शिलान्यास गरिएको जानकारी दिए । कार्यक्रममा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सरकारको यो कामले ग्रामिण क्षेत्रमा राहत पुग्ने भन्दै जनशक्ति र पूर्वाधार अस्पतालमा हुनुपर्ने बताए ।